१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिमका थप ३१ जनामा कोरोना संक्रमण



सुदूरपश्चिममा बुधबार ३१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड १९ पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा.गुणराज अवस्थीले बताए ।

संक्रमित मध्ये कैलालीका २०, अछामका दुई, डोटीका पाँच, कञ्चनपुरका दुई र बझाङका दुई जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३८० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२३ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ ।

पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार