१७ बैशाख २०८१, सोमबार

स्थानीय तहहरू कोरोना संक्रमितको उपचारको व्यवस्था गर्दै



टीकापुर । कैलालीका केही स्थानीय तहले कोरोना संक्रमितहरुको स्थानीय स्तरमा नै उपचार गर्ने व्यवस्था गर्न थालेका छन् । जिल्लाको घोडाघोडी, टीकापुर, गौरीगंगा र लम्किचुहा नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन निर्माण गरिसकेको बताएका छन् ।

फाइल फाेटाे

घोडाघोडी नगरपालिकाले स्थानीय घोडाघोडी क्याम्पसमा २० सैयाको आइसोलेशन वार्ड बनाएको छ । घोडाघोडीमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने ७० जनामा आरडिटी पोजेटिभ देखिएको छ । नगर प्रमुख ममताप्रसाद चौधरीले कोरोनाको जोखिमलाई ध्यानमा दिँदै आइसोलेशन निर्माण गरिएको बताए ।

त्यस्तै, टीकापुर अस्पतालमा १२ सैयाको आइसोलेसन वर्डा बनाइएको छ । अस्पतालमा रहेका सैया अपुग हुने स्थिति देखिएपछि टीकापुर नगरपालिकाले छिमेकी स्थानीय तहसंगको समन्वयमा पुरानो सिटी हललार्ई ५० सैयाको आइसोलेशन कक्ष बनाएको छ । स्थितिको आँकलन गरेर आइसोलेशन थपिएको र ५० सैयाले पनि नपुगे थप व्यवस्थापन गरिने नगर प्रमुख तपेन्द्र बहादुर रावलले बताए ।

त्यस्तै, गौरीगंगा नगरपालिकाले पनि ५० सैयाको आइसोलेशन वार्ड निर्माण गरेको छ । गौरिगंगाले चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सक सहितको सेवा रहेकाले नगरपालिकाले अक्सिजन र नेबुलाइजर सेवासहितको आइसोलेशन वार्ड बनाएको नगर उपप्रमुख अन्चला चौधरीले बताइन् । उनका अनुसार केही समयअघि नगरपालिकामा देखिएका कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले ठाउँ नभएको भन्दै फर्काएकाले आइसोलेशन निर्माण गरिएको हो ।

लम्कीचुहा नगरपालिकाले एक स्थानीय होटलमा २५ सैयाको आइसोलेशन बनाएको छ । नगर प्रमुख महादेव बजगाईंले नगरपालिका क्षेत्रमा कोरोनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै तथा थप जोखिम बढ्न नदिनका लागि आइसोलेशन बनाइएको बताए ।

सुदूरपश्चिममा कोरोना परीक्षण र व्यवस्थापनको नयाँ मापदण्ड स्वास्थ्य निर्देशनालयले तोकेपछि स्थानीय तहहरू आइसोलेशन निर्माणमा जुटेका हुन् । कोरोनाको संक्रमण देखिएकाहरूलाई अहिले स्थानीय तहले बनाएका आइसोलेशनमा राखेर उपचार गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार