२ जेष्ठ २०८१, बुधबार

सरकारको गलत निर्णय र कार्यशैलीका कारण दोधारमा कोराना संक्रमित



त्रासमा छरछिमेक

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ लठैयाका एक युवकलाई स्वास्थ्यकर्मीले शुक्रबारदेखि घर परिवारमा घुलमिल गर्न पाउने छुट दियो । असारको ४ गते धनगढी प्रयोगशालामा भएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी १४ दिन घरकै बारीमा माटोले बनाइएको सानो टहरामा बसेका थिए ।

‘मलाई रुघाखोकी, ज्वरो केही पनि देखिएन । त्यसैले शुक्रबार स्वास्थ्यकर्मीले ज्वरो जाँच गरी अब घर परिवारसंग घुलमिल गर्न सक्छौं भने । वडा अध्यक्षले पनि त्यस्तै भनेपछि म घरभित्र त बसे, तर मनमा अझै त्रास छ’ उनले भने– ‘सरकारले मलाई कोरोना संक्रमणको प्रमाणपत्र दियो, तर संक्रमणमुक्तको प्रमाणपत्र ख ? खाली ज्वरो नापेर ढुक्क भएर घर बस भन्दा कसरी बस्ने ?’ उनले आफनो पिसिआर चेकजाँच गरिनुपर्ने माग गरे ।

उनलाई स्वास्थ्यकर्मीले १४ दिनसम्म कुनै लक्षण नदेखिएकोले सर्ने सम्भावना नरहेको भन्दै घरभित्र बस्न सुझाव दिएका थिए । उनले भने– ‘स्वास्थ्यकर्मीले तपाईमा १४ दिनसम्म कुनै लक्षण देखिएन । यदि त्यो समयभित्र लक्षण देखिएको भए सर्ने सम्भावना हुन्थ्यो । त्यसैले अब घरमै बस्नुहोस भने ।’

उनले आफ्नो पिसिआर परीक्षण न नगरि घरमा बसाइएको कुरा आफूलाई चित्त नबुझेको प्रतिक्रिया दिए । ‘भारतमा पनि मैले परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थिएन । यहाँ आएको झण्डै एक महिना पछि कोरोना संक्रमण देखियो’ उनले भने– ‘अहिले परीक्षण नगरी घर बस्न भनियो । ममा अझैं पनि कोरोना भाइरस संक्रमण छ की भन्ने चिन्ताले घरपरिवारमा घुलमिल हुन नि मन लागेको छैन ।’

उनले घरभित्रै बस्दा घरका अन्य सदस्यहरूसंग कुनै न कुनै कारण घुलमिल भइहाल्ने अवस्था नरहेको बताए । भने– ‘घरका सदस्यहरूसंग अरु वेला त घुलमिल त भएको छैन, तर खाना खादाखेरी घुलमिल भइ नै हाल्छ ।’

गौरीगंगा नगरपालिका वडा नम्बर १ का एक युवकले पनि कोरोना संक्रमण पुष्टि गरे अनुसार नै कोरोना संक्रमणमुक्त प्रमाणपत्र दिनुपर्ने माग गरे । उनले कोरोना संक्रमण पुष्टि भएपछि समाजमा अपहेलित हुनुपर्ने अवस्था आएको बताए । ‘यही समाजका कतिपय व्यक्तिहरूले अहिले यता नजा भन्छन्, कहिले यता न छो भन्छन् । घरभित्र सुतेर बस भन्टछन् । समाजको यस्तो व्यवहारले निकै अपहेलित भएको महसुस हुन्छ’ उनले भने– ‘रोग त सबैलाई लाग्छ । समाजले त हौसला प्रदान गर्नु पर्ने हो नि, तर यहा खाली अपहेलना मात्रै छ ।’

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते नेसनल टेस्टिङ गाइलाइन फर कोभिड–१९ मापदण्ड जारी गरेको छ । यही गाइडलाइन अनुसार निश्चित व्यक्तिले मात्र पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान बनाइएको छ । विशेषगरी पिसिआर परीक्षण गर्नुपर्नेमा कोरोनाका शंकास्पद लक्षण भएका व्यक्तिहरू पर्छन् ।

असार ८ गते सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी गाइडलाइन (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड–१९) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशको पनि पालना नगरी कोरोना संक्रमण पुष्टि भएकालाई गाइडलाइनकै आधारमा घर पठाइन लागेको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जगतराम चौधरीले बताए ।

‘सरकारले बनाएको गाइडलाइन हामी जनप्रतिनिधीलाई पनि चित्त बुझेको छैन । कोरोना संक्रमण पुष्टि भएकाहरूलाई संक्रमणमुक्त गरेरमात्र घर पठाइनुपर्ने थियो’ उनले भने– ‘अहिले विना परीक्षण घर पठाइदा घर परिवार, गाउँ, टोलमै त्रासको वातावरण सृजना भएको छ ।’

उनले संक्रमण पुष्टि भएका व्यक्तिहरूले समाजभित्र विभेद झेल्नुपर्ने अवस्था आएको बताए । ‘हामीसंग स्रोत साधन पनि छैन । अहिले यसरी विना परीक्षण घर पठाउँदा अन्य परिवार तथा गाउँ टोलका मानिसमा आरडिटी परीक्षण गर्न पनि किट छैन’ उनले भने– ‘हामीले पिसिआरका लागि स्वाव संकलन गरेर प्रदेशमा पठाउँदा पनि नपठाइदिनुहोस भनिरहेका छन् ।’

उनले कोरोना संक्रमण पुष्टि भएका १८ जनामा अहिले लक्षण नदेखिएपछि घरमा जान भनिएको जानकारी दिए । पिसिआर चेकजाच नगरी घर पठाइएका गौरिगंगा नगरपालिकाका युवककी आमाले भनिन्– ‘छोरोलाई घरभित्र पठाए पनि कोरोनाको डर लागिरहेको छ । पिसिआरमा कोरोना पुष्टि भएपछि छोरालाई छुट्टै राखियो । अहिले लक्षण नदेखिएपछि घरमा पठाएको छ । ’ उनले भनिन्– ‘स्वास्थ्यकर्मीले केही हुँदैन त भनेको छ, तै पनि परीक्षण नगरेर पठाउदा कोरोनाको त्रास त हुने नै भयो ।’

त्रासमा टोलबासी

जेठको ११ गते गौरिगंगा नगरपालिका वडा नम्बर १ को पशुपति निमाविमा क्वारेन्टाइन स्थापना गरियो । सो क्वारेन्टाइनमा ७३ जनालाई राखिएको थियो । ७३ मध्ये ५० जनाको आरडिटी परीक्षण गर्दा ५० जनाको पोजेटिभ आयो । वडा अध्यक्ष जगतरामले भने– २३ जनाको रिपोर्ट नेगेटिभ आएपछि हामीले उनीहरूलाई घर पठायौं ।

उनका अनुसार आरडिटीमा पोजेटिभ आएकाहरूको जेठ २२ गते पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । उनीहरूको रिपोर्ट भने असार ४ गतेमात्र आएको थियो ।

वडाध्यक्ष जगतरामले भने– पिसिआरको रिपोर्ट नआउँदै पशुपति क्वारेन्टाइनमा बसेका व्यक्तिहरू भागेर आ–आफनो घर गइसकेको थिए । उनका अनुसार क्वारेन्टाइनबाट भागेका ५० जनामध्ये १८ जनामा कोरोना पुष्टि भएको थियो । ‘संक्रमण पुष्टि भएपछि उनीहरूको खोजी गरेर ‘होम क्वारेन्टाइन’ मै बस्न सुझाव दियौं’ उनले थपे ।

उनका अनुसार नगरपालिकामा आइसोलेसनको व्यवस्था नभएको र क्वारेन्टाइन पनि व्यवस्थित नभएका कारण उनीहरूलाई घरमै बस्न भनिएको थियो ।

गौरिगंगा नगरपालिकाका स्थानीय जगत बोहराले पिसिआरको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट भागेका व्यक्तिहरूबाट कोरोना संक्रमणको जोखिम बढेको बताए । ‘क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रिपोर्ट नआउँदै घर गइहाले । पछि रिपोर्ट आउँदा पोजेटिभ देखियो । फेरी उनीहरूलाई आइसोलेसन तथा क्वारेन्टाइनमा राख्नुभन्दा घरमा रातो रिवन बाँधियो’ उनले भने– ती १८ जना संक्रमितबाट परिवार, टोल र समाजमा कति प्रभाव पार्छ । हामी अहिले सुरक्षित महशुस गरिरहेका छैनौं । हाम्रो घरभित्र कोभिड–१९ छ जस्तो बुझिरहेका छौं । यो विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण होस ।

उनले घर परिवार, टोलमा कन्ट्याक्ट ट्रेसिङ गर्न माग गरे ।

बजार घुमेको थिए–संक्रमित

गौरिगंगा नगरपालिकाका वडा नम्बर १ पशुपति निमाविको क्वारेन्टाइनमा बसेका स्थानीयहरूले घर जान पाउनुपर्ने माग गर्दै विरोध गरे । क्वारेन्टाइन अव्यवस्थित भएको, खाना राम्रो नभएको लगायतका गुनासो गर्दै घर जान पाउनुपर्ने माग गरेका थिए । २८ गते उनीहरूको माग नगरपालिकाले सम्बोधन नगरेपछि ३० गते क्वारेन्टाइनबाटै भागेर सबै आ–आफनो घर गएका थिए ।

गौरिगंगा नगरपालिका वडा नम्बर १ का एक युवकले भने– क्वारेन्टाइनबाट आएर मैले कपाल काट्न गए । त्यसपछि आवश्यक सामान खरिद गर्न बजार पुगे ।

उनले सामान खरिद गरेपछि एक हप्तासम्म मामा घरमा गएर बसेको बताए । उनले भने–स्वाव संकलन गरेको एक हप्तासम्म पनि रिपोर्ट आएन । लक्षण पनि कुनै नदेखिएकोले म मामा घर गए ।

उनले आफुमा कोरोना पुष्टि भएपछि घरमा एकान्तवासमा बसेको बताए । उनले भने– अहिले घरमा भाइ बहिनी र आमा हुनुहन्छ । तर, उनीहरूको परीक्षण पनि भएको छैन ।

कोरोना संक्रमित अर्का युवकले पनि क्वारेन्टाइनबाट भागेपछि घरभित्र प्रवेश गरेको बताए । उनको घरसंगै दाइ र फुपुको घर जोडिएको छ । उनले भने– तीन घर जोडेर १३/१४ जना छन । कोरोना संक्रमण पुष्टि भएपछि मलाई अलग्गै बस्न भनियो, तर अन्यको परीक्षण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार