२ जेष्ठ २०८१, बुधबार

संसद अवरोधबारे सरकार र प्रतिपक्षी दलबीच छलफल



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा भइरहेको अवरोधबारे बुधबार प्रदेश सरकार र प्रतिपक्षी दलहरूबीच छलफल भएको छ ।

प्रदेश सरकार तथा प्रतिपक्षी दलहरू नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूबीच संसद अवरोधबारे छलफल भएको जनाइएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख प्रतिपक्षी नेता रणबहादुर रावल, जनता समाजवादी पार्टी संसदीय दलका नेता कृष्णबहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।

बुधबारको बैठकमा प्रतिपक्षी दलका प्रतिनिधिहरूले संसद अवरोध गर्नुका कारण र आफ्ना सवालबारे सरकारलाई जानकारी गराएका थिए ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रावलले सरकारले गृहकार्य गरेर बिहिबार पुनः छलफलका लागि बोलाउने प्रतिक्रिया दिएको जानकारी दिए । बैठकपछि अनुमोदनसंग नेता रावलले भने– सरकारले हामीहरूले उठाएका सवाल र मागबारे गम्भीर भएको बताएको छ । हाम्रा मागको सम्बोधन गर्न गृहकार्य गर्ने भन्दै सरकारले पुनः बिहीबार छलफलमा बोलाउने भनेको छ ।

प्रतिपक्षी दलहरूले तत्काल ‘कोरोनाको पिसिआर चेकजा“चको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्र्ने’ माग गर्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको १७ दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन ।

बुधबार सरकार र प्रतिपक्षी दलहरूबीचको छलफल निष्कर्षमा नपुगेपछि बिहिबार दिउँसो ३ बजे आह्वान गरिएको संसद बैठक पनि प्रभावित हुनसक्ने देखिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता रावलले भने– जबसम्म सरकारले हामीले उठाएका मागबारे गम्भीरतापूर्वक सम्बोधन गर्दैन, तबसम्म हामी सदन चल्न दिदैनौं ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले सरकार र प्रतिपक्षी दलहरूबीच संसद अवरोध निकासका लागि छलफल जारी रहेको बताए । उनले भने–उहाँहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा संघबाट आएको रकममा आर्थिक अनियमितता भयो भनेर अडान लिइरहेका छने्, तर प्रदेश सरकारले कोरोना नियन्त्रणमा भएको खर्च यथार्थ जानकारी भइसकेको छ ।’ उनले बिहिबारको बैठक सञ्चालन गराउन प्रदेश सरकार लागि रहेको बताए ।

मन्त्री शाहले ‘सदन सञ्चालन गराउन दुबै पक्ष सकारात्मक रहेको’ बताए । उनले भने– हामी प्रतिपक्षी दललाई त्यस (सदन सञ्चालन) मा आग्रह गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार