२ जेष्ठ २०८१, बुधबार

कञ्चनपुर र बैतडीमा पनि सलह



धनगढी । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र बैतडीमा पनि सलह किरा देखा परेको छ ।

कञ्चनपुरको बेलौरी र बैतडीको पाटन नगरपालिकामा सलह किरा देखिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाका अनुसार बुधवार बेलौरी नगरपालिका वडा नम्बर ६ मा सलह किरा देखिएको हो ।

यद्यपि यो किराको समूह सानो भएकोले कृषकहरूलाई नआत्तिन तर सजक रहन कृषि विकास शाखाका प्रमुख सुमन जोशीले बताए ।

त्यस्तै, बैतडीको पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको छ । केही दिन अघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो । मंगलवार पाटन नगरपालिका वडा नं १० को ठाँटा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले पुष्टि गरे ।

पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानहरूले खबर गरेपछि फिल्डमा जाँदा सलह किरा भेटिएको उनले बताए । अहिले धेरै ठुलो झुण्ड नभए पनि एक दुई सयको झुण्ड देखा परेको उनको भनाइ छ ।

पाटन नगरपालिकाको वडा नम्बर १ मा पनि सलह देखिएको वडाध्यक्ष गणेशदत्त भट्टराईले बताए ।

बैतडीमा सलहको ठुलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पु¥याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए ।

बारीमा सलह देखा परेमा ठुलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राती सलह बसेको ठाउँमा विषादी छर्कने सल्लाह दिएको कृषि शाखा प्रमुख अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार