२ जेष्ठ २०८१, बुधबार

बझाङमा भिषण पहिरोः छ जनाको मृत्यु एक वेपत्ता, २० घर पुरिए



बझाङ । बझाङको केदारस्यू गाउँपालिकामा शनिबार बिहान आएको भिषण पहिरोमा छ जनाको मृत्यु भएको छ । पहिरोमा एक जना वेपत्ता भएका छन् । २० घर पुरिएका छन्. ।

शनिबार बिहान करिब एक बजेतिर आएको पहिरोबाट केदारस्यूँ गाउँपालिका वडा नम्बर ८, मल्लेसी गाउँका १८ घर पहिरोमा पुरिएर मृत्यु भएकामध्ये शनिबार साझसम्म चार जनाको शव निकालिएको छ । पहिरोमा वेपत्ता भएका अन्य तीन जनाको खोजी कार्य भइरहेको छ ।

पहिरोमा परेर आफ्नै घरभित्र पुरिएर निधन भएका ४४ वर्षीया राममती जेठारा र उनकी १५ वर्षीया छोरी शान्ती, ११ वर्षीय छोरा प्रयागराज र सात वर्षीया छोरी अस्मिता तथा ८० वर्षीया दले जेठारा र १२ वर्षीय सन्तु जेठाराको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर वेपत्ता भएका २० वर्षीया गिरीजा जेठाराको खोजी कार्य जारी रहेको बताइएको छ ।

स्थानीय सुरेश जेठाराका अनुसार शुक्रबार रातीदेखिको अविरल वर्षासंगै गाउँमाथिबाट पहिरो आउन थालेपछि गाउले सबै घरबाट बाहिर निस्केका थिए । तर राममती लगायतका सात जना पहिरोमा पुरिएको उनले बताए ।

मल्लेसी गाउँको माथिपट्टी रहेको रातोपड सामुदायिक बनबाट खसेको पहिरोमा १८ घर पूर्ण रुपमा क्षती भएका छन् । एकाएक आएको पहिरोले २२ वटा भैसी, ६५ वटा बाख्रा तथा २४ वटा गाईगोरु समेत बगाएको छ ।

पहिरोका कारण पुरै मल्लेसी गाउँ सखाप भएको छ । मल्लेसीका नरेश बोहराले भने– शरीरमा लगाएका कपडा बाहेक सबै पहिरोले बगायो । घर पुरै पुरिएपछि खाद्यान्न, लत्ताकपडा, सम्पती क्षती भएको छ । पहिरोले गाउँ अगाडीको २० रोपनी जग्गाको धानबाली समेत पूर्ण रुपमा नष्ट भएको छ ।

स्थानीयका अनुसार शनिबार दिनभरी पनि पहिरो बगिरहेको छ । जुईली गाड र सुङरी गाडको बीचमा रहेको मल्लेसी गाउँसम्म आवतजावत गर्न पनि नसकिने अवस्था भएको छ । मल्लेसीमा ९० घरपरिवारको बसोवास छ ।

पहिरो आउला भन्ने कल्पना नै थिएन– गाउले

केदारस्यू गाउपालिकाको मल्लेसी गाउ शनिबार बिहानैदेखि स्तब्ध भएको छ । पहिरोमा छ जनाको मृत्यु भएको र एक जना वेपत्ता भएपछि पुरै गाउ शोकाकुल बनेको छ । पहिरोले मल्लेसी गाउँलाई उजाड बनाएको छ । गाउको माथि रहेको सामुदायिक बनबाट एकाएक पहिरो आउला भन्ने कल्पना समेत नगरेका गाउलेहरु भन्छन्– गाउँको माथि रहेको सामुदायिक बनमा खुल्ला चरिचरण बन्द गरिएको एक दशक बढि भईसकेको थियो । यत्रो घना जंगल फाडेर पहिरो आउला भन्ने कल्पना समेत गरेको थिएनौ ।

यसैबीच, सरकारले नेपाली सेनाको हेलिकोप्टर मार्फत मलेसीका पहिरो पीडितहरुका लागि राहत सामग्री पुराएको छ ।

पहिरो पीडितहरुका लागि खाद्यान्न, लुगाकपडा, पाल र भाडाकुडाहरू ल्याईएको बताईएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पीडितसम्म राहत सामग्री पु¥याउने कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार