२ जेष्ठ २०८१, बुधबार

कोभिड–१९ पत्रकारिता अभिमुखीकरण शुरु



उपमहानगरापालिकाले मुलुककै सबैभन्दा ठूलो होल्डिङ सेन्टर व्यवथापन गरेको छ– उपप्रमुख भट्ट

धनगढी । धनगढीमा शनिबारदेखि कोभिड–१९ पत्रकारिता अभिमुखिकरण शुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा सञ्चालिन अभिमुखीकरण कार्यक्रमको उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् ।

अभिमुखीकरण कार्यक्रममा धनगढीका २२ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

सो अवसरमा उपप्रमुख भट्टले उपमहानगरापालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणमा हरसम्भव प्रयास गरिरहेको चर्चा गरिन् । उनले उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा मुलुककै सबैभन्दा ठूलो होल्डिङ सेन्टरको व्यवस्थापन गरिरहेको बताइन् ।

उनले भनिन्– कोरोना महामारी फैलिदै गएपछि कैलालीको त्रिनगर भन्सार नाकाहूदै भारतबाट फर्किएका नेपालीहरुको सबैभन्दा पहिले व्यवस्थापन गर्ने कार्य उपमहानगरपालिकाले नै गर्दै आएको छ । बाहिरबाट आउनेहरुको सुरुको व्यवस्थापन गर्ने कार्य उपमहानगरपालिकाले नै गरिरहेको छ ।

उनले कैलालीको त्रिनगर भन्सारनाका भएर भित्रिएका र भित्रिरहेका हजारौ नेपालीहरुलाई धनगढीस्थित नवदुर्गा माध्यमिक विद्यालयमा स्थापना गरेको होल्डिङ सेन्टरमा राखेर व्यवस्थापन गरेर सम्बन्धित जिल्ला तथा स्थानीय तहसम्म पठाउने व्यवस्था गरिएको बताइन् ।

उपप्रमुख भट्टले कोरोनाका कारण पत्रकारिता क्षेत्र पनि निकै प्रभावित भएको चर्चा गरिन् । उनले निकै अफ्ठेरामा परेका श्रमजिवी पत्रकारहरुका लागि सबै तहका सरकारहरु गम्भीर बन्नुपर्ने बताइन् ।

उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावदको अध्यक्षता भएको थियो ।

अभिमुखीकरण कार्यक्रमको पहिलो दिन डाक्टर शेरबहादुर कमर र पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मनमोहन स्वारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार