२२ बैशाख २०८१, शनिबार

कैलालीमा प्रधानमन्त्रीको समर्थनमा निकालिएको र्यालीमा झडप



धनगढी । कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा निकालिएको र्यालीमा झडप भएको छ ।

सोमबार साझ लम्कीबजारमा सचेत युवाहरु नाम दिएको समुहले प्रधानमन्त्री ओली पक्षमा प्लेकार्ड सहित नारा लगाउँदै कोण सभा गरिरहेको बेला झडप भएको थियो ।

उनीहरुले आफुहरु प्रधानमन्त्री ओलीको साथमा रहेको र प्रधानमन्त्रीलाई हटाउन भारतीय पक्ष सक्रिय रहको भन्दै बिरोध जनाएका थिए । प्रधानमन्त्रीको समर्थनमा बजार परिक्रमा गरी कोण सभालाई सम्बोधन गरिरहेका नरबहादुर खड्काले कुनै पनि हालतमा प्रधानमन्त्रीलाई हटाउन नहुने भन्दै नेकपा अध्यक्ष प्रचण्डको नामै लिएर बिरोध गरेपछि नजिकै रहेका प्रचण्ड पक्षधरले कार्यकर्ताले प्रचण्ड किन नाम लिएको भन्दै सभामा हस्तक्षेप गरेपछि झडप हुन पुगेको थियो ।

कोण सभालाई सम्वोधन गरेका खड्का तत्कालिन एमाले कैलाली जिल्ला कमिटी सदस्य हुन् ।

प्रधानमन्त्री ओली पक्षधर र बिरोधी पक्षधर बीच झडप भएपछि प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी स्थिती नियन्त्रणमा लिएको थियो । घटनास्थलमा रहेका सुरक्षाकर्मीले समयमै स्थितीलाई नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना हुन नपाएको प्रहरीको भनाई छ ।

उनीहरु बीच फेरी झडप हुनसक्ने भन्दै घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेकपा प्रदेश कार्यालयमा धर्ना

यसैबीच, सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) युवाहरुले व्यक्तीको होइन नीति र पद्धतिले पार्टी चल्नु पर्ने माग राख्दै कैलालीमा धर्ना दिएका छन् ।

सोमबारदेखि धनगढीको चटकपुरमा रहेको पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयको ढोकामा बसेर धर्ना शुरु गरिएको हो ।

नेकपा कैलाली जिल्ला कमिटी सदस्य विमलकुमार जोशीले धर्ना कार्यक्रममा पार्टीमा क्रियाशिल विभिन्न कमिटीमा रहेका युवा, विद्यार्थीको सहभागिता रहेको बताए ।

उनले धर्ना पार्टीमा हाल देखिएको असहज परिस्थितीमा ब्यक्ति नभई नीति र पद्धति कायम गरी पार्टी एकता कायम राख्न दवाव दिन धर्ना युवा विद्यार्थी धर्नामा बसेको जानकारी दिए ।

उनले यस्तो कार्यक्रमले नेतालाई एकता कायम राख्न र नीति पद्धतिबाट चल्न खवरदारी हुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार