२२ बैशाख २०८१, शनिबार

आगामी चार दिन भारी वर्षा हुने सम्भावना



धनगढी । जल तथा मौसम विज्ञान विभागले आगामी चार दिनपछि अर्थात् शुक्रबारदेखि देशभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ ।

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार हाल मनसुन सक्रिय रहेकाले मुलुकका पूर्वी तथा मध्य क्षेत्रको धेरै ठाउँमा वर्षा हुने र कतैकतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा पानीको बहाव सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने विभागले जनाएको छ ।

पूर्वको कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, प्रदेश नम्बर १ र २, बागमती प्रदेश तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको विभागको वेवपोर्टलमा उल्लेख छ ।

विभागले सबैमा पू्र्वसावधानी अपनाउन समेत आग्रह गरेको छ । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ । अहिले मनसुनमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले सुरुमै कुन कुन क्षेत्रमा असर गर्न सक्छ भन्ने कुरा जानकारी दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

यसैबीच, सोमबार बागमती प्रदेश र प्रदेश नम्बर ५ तथा गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अरु ठाउँमा भने दिनभर सामान्यतया बदली रहेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । रातिदेखि नै पानी परेका पहाडी भेगमा पहिरो र तराई तथा पानीको राम्रोसँग निकास नभएको ठाउँमा डुबानको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार