२२ बैशाख २०८१, शनिबार

भारतीय पक्षद्वारा हुलाकी सडक निर्माणमा अवरोध



कञ्चनपुर । भारतीय पक्षले सशस्त्र सुरक्षाकर्मी सहित सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेको छ ।

भारतीय अधिकारीहरूले सशस्त्र एसएसबीको जत्था सहित कञ्चनपुरको बेलौरीस्थित निर्माणस्थलमै आएर सडक निर्माणमा अवरोध गरेको स्थानीयले जनाएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८, पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद गर्दै हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको बताइएको छ ।

भारतीय पक्षले यसअघि गत असारमा हुलाकी सडक निर्माण गरिरहेको निर्माण कम्पनीलाई विवादित भूमी भन्दै काम नगर्न दवाव दिएको थियो ।

बेलौरीका स्थानीय शिक्षक विवेक लम्सालले भारतीय पक्षले दादागिरी शैलीमा नेपाली भूमिमै आएर हुलाकी सडक निर्माण कार्यमा अवरोध गरेको बताए । उनले भने– उनीहरू ठूलो सहस्त्र जत्था लिएर आएका थिए । र, विवाद गरेर सडकको काम रोकेर गए । उनका अनुसार भारतीय अधिकारीहरूले निर्माण कम्पनीलाई काम नगर्न धम्की दिएका छन् ।

सो हुलाकी सडकको बाबाहंस सिद्धिकी निर्माण कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीका संचालक चक्र शाहले भारतीय अधिकारीहरूले सो सडकखण्डमा काम नगर्न दबाव दिएका कारण काम रोकिएको बताए ।

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर भन्दै अनावश्यक विवाद झिक्दै आएको छ । गत वर्ष सो सडकमा ग्राभेलिङ गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । कम्पनीका सञ्चालक शाहले भने– अहिले कालोपत्रे गर्ने तयारी भइरहेको थियो, तर भारतीय पक्षले अवरोध ग¥यो ।

भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्गबारे भारतीय पक्षसंग वार्ता गरिने बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार